आयोजक टिम झापा गोल्डकपको सेमिफाइनलमा

16

बिर्तामोड, २४ फागुन । आयोजकको टिम झापा ११ एफसी झापा गोल्डकप छैटौँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक–एक गोल गरे । मकवानपुरका लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलरक्षक गोपी बर्तौलाले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दीपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपी अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन् ।

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदीप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा झापाले दुई गोल थप्यो । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा एपिएफ र आर्मीले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्ने छन् ।

फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...