नेपालमा जलवायुसम्बन्धी संसदीय समिति र मन्त्रालय आवश्यक : प्रदीप पौडेल

23

काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले नेपालमा जलवायुसम्बन्धी संसदीय समिति र जलवायु मन्त्रालय आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भएपनि सरकारका तर्फबाट कुनै प्रभावकारी काम नभएको बताउनुभयो ।

सांसद पौडेलले भन्नुभयो,‘हामीले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मन्चमा सहभागी जनाउने गरेका छौं । विभिन्न सम्झौताहरु गरेका छौं तर नीतिगत रुपमा केही काम गर्न सकेका छैनौँ । यसका लागि जलवायु सम्बन्धी अलग्गै मन्त्रालय र संसदीय समिति स्थापना तत्काल गर्नुपर्छ ।’

बिहीबार लोकतन्त्र तथा विकास केन्द्रले काठमाडौँ आयोजना गरेको ‘क्लाइमेट इनोभेसन फर उमेन इम्पावरमेन्ट’ विषयक कार्यक्रममा बोल्दै पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको थाहा हुँदाहुँदै पनि नेपालमा राजनीतिको मुख्य मुद्दा बन्न नसकेको दुखेसो गर्नुभयो ।

‘हामीले जलवायु परिवर्तन र यसको जोखिम न्यूनीकरणका प्राविधिक पक्ष बुझ्न सकेनौँ । राज्यको प्राथमिकतामा राखेका छैनौँ र संविधानले व्यवस्था गरेको छैन । यस्तो परिस्थितीमा केही सांसदहरु मिलेर संसदीय समिति र अलग्गै मन्त्रालयको पहल गरेका छौँ । तर, सरकारको प्राथमिकतामा पर्न नसक्नु दुःखद् पक्ष हो,’ सांसद पौडेलले भन्नुभयो ।

एक्सन नेपालकी कार्यकारी निर्देशक रोमी घिमिरेले जलवायु परिवर्तनको जोखिम व्यवहोरिरहेका विश्वका २०० मुलुकहरुमध्ये नेपाल चौथो स्थानमा रहेको उल्लेख गर्दै जलवायु नियन्त्रणमा महिला सशक्तीकरण आवश्यक रहेको औँल्याउनुभयो । ‘विकास र जलवायु परिवर्तनको मुद्दा सँगसँगै अघि बढाउनुपर्ने भएकाले महिला सहभागिता एवम सशक्तीकरण अनिवार्य सर्त बन्नुपर्छ । विपत न्यूनीकरण, जीविकोपार्जन, सीप विकास र स्रोतको प्रयोगमा महिला समानता आवश्यक छ,’ उहाँले भन्नुभयो ।

वातावरण विभागकी वातावरण निरीक्षक हर्सना श्रेष्ठले जलवायु परिवर्तनको असर हिमाल कालो हुनुलाई मात्र लिन नहुने बताउँदै मौसममा आएको परिवर्तन पनि जलवायु परिवर्तनको असर हो भन्नुभयो । विभागका तर्फबाट जलवायु प्रदू्रषण नियन्त्रणमा काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले महिलाहरुलाई प्रविधिको पहुँचमा सहभागी गराइ हरेक क्षेत्रमा समान भूमिका दिर्नुपर्ने बताउनुभयो ।

एक्सन नेपालकी कार्यक्रम अधिकृत युरिसा उपाध्ययले महिलाहरु घरायसी काम र कृषिमा धेरै सक्रिय रहेकाले जलवायु परिवर्तनको असर भोगिरहेको बताउनुभयो । उहाँले राज्यले हरेक कार्यक्रमहरु जलवायुमैत्री बनाउँदै महिलाहरुलाई हरेक क्षेत्रको पहुँमा पुर्याउनुपर्ने औँल्याउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...