काठमाडौँ, २४ फागुन । सरकारले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईको बिदाई गर्ने निर्णय गरेको छ । उहाँ शनिबार अवकास हुन लाग्नुभएकाले त्यसअघि नै बिदाई गर्नेगरी बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
२०७५ साल २६ फागुनमा सचिवमा बढुवा हुनुभएकी गुरागाईलाई सरकारले माधवप्रसाद बेलवासेसँगै एकसाथ सचिवमा बढुवा गरेको थियो ।
परिवारका सातै सदस्य सरकारी जागिरे भएकी गुरागाईले निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलयलगायतका निकायमा सचिवको भूमिकामा काम गर्नुभएको थियो । सचिबमा बढुवा हुनासाथ उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गर्नुभएकी थिइन् ।
गुरागाई २०५१ सालदेखि प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गर्नुभएको हो । शिक्षा सेवा, शिक्षा प्रशासन, राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिव साथै ०६४ सालमा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा बढुवा हुनुभएकी थिइन् ।