बिर्तामोड, २२ फागुन । झापा गोल्डकप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई कारबाही गरेको छ । सोमबारको खेलमा एपिएफले खेल अनुसासन उल्लंघन गरेको भन्दै गोल्डकप आयोजकले कारबाही गरेको हो ।
सेमिफाइनलमा प्रवेश गरेको एपिपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लंघन गरेको थियो ।
खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किदाँ केही समय खेल अवरुद्ध भएको थियो । एपिएफको त्यस गतिविधिको दर्शकबाट चर्को आलोचना भएको थियो ।
मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपिपीएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रंगसम्बन्धी नियम उल्लंघन गरेको ठहर गरेको छ ।
एपिएफमाथि गरेको कारबाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ । एपिएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ (ख) बमोजिम कारवाही गरिएको हो ।
एपिएफले आगामी दिनमा त्यस्तो गल्ती दोहोरिन नदिने लिखित प्रतिबद्धता आयोजकसमक्ष गर्नुपर्ने निर्देशन दिइएको छ । त्यसैगरी ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बिनोद बस्नेतले जनाउनुभयो ।