म्यानचेस्टर युनाइटेडमाथि सिटीको पुनरागमन जित

11

काठमाडौँ, २१ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई अन्ततः ३–१ गोलले पराजित गरेको हो ।

इथिहाद स्टेडियममा पाहुना टोली युनाइटेडले ८औँ मिनेटमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा सोही अग्रता कायम राखेको युनाइटेडले दोस्रो हाफमा भने लय गुमाउन पुग्दा उल्टै ३ गोल बेहोरेको थियो ।

५६औँ मिनेटमा रोड्रिगोको पासमा फिल फोडेनले गोल गर्दै घरेलु टोली सिटीलाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ९०औँ मिनेटमा जुलियन अल्भारेजको पासमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता लियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रीको पासमा एर्लिङ हालान्डले गोल गरेपछि अन्ततः सिटी ३–१ गोलको पुनरागमन जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लियो ।

यो नतिजापछि सिटी २७ खेलबाट ६२ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिभरपुलले समान खेलबाट ६३ अंक बनाएको छ । सिटीसँग पराजित भएको युनाइटेड भने ४४ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...