खाँदबारी, १२ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पांमामा जारी सातौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एड्भान्स क्लब मानेभञ्ज्याङले जितेको छ ।
‘राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किरातको महान् पर्व उधौली तथा धान्यपूर्णिमाको अवसरमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगीवन्त रङ्गशालामा सातौँ पाङ्मा कप फुटबल प्रतियोगिता पुस ७ गतेदेखि सुरु भएको थियो । लोहोरुङ क्लब पाङ्माको आयोजनमा सातौँ पाङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता बधबार समापन भएको हो ।
फाइनल खेलमा एड्भान्स क्लब मानेञ्ज्याङले आयोजक लोहोरुङ क्लब पाङ्मालाई टाइब्रेकरमा २ गोलका विरुद्ध ४ गोलअन्तरले पाङ्मा कपको सातौँ संस्करणको उपाधि जितेको हो । पहिलो हाफसम्म शून्य गोल रहेको एड्भान्स क्लबले दोस्रो हाफपछि लगातार दुई गोल गरेर बराबर बनाएको थियो ।
विजयी टिमलाई नगद एक लाख ५१ हजार, ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिएको छ भने उपविजेतालाई नगद ८१ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्रले सम्मान गरिएको प्रतियोगिताका संयोजक ध्यानसिंह राईले जानकारी दिए ।
त्यस्तैगरी सेमिफाइनलमा प्रवेश गरेको सिक्किम फुटबल क्लब र कोशी प्रदेश प्रहरी टिमले नगद २५/२५ हजारमा चित्त बुझाएका छन् । प्रतियोगिताको विजयी टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले पुरस्कार वितरण गरे । कार्यक्रममा सदस्य सचिव वाग्लेले भगीवन्त रंगशालाको भौतिक पूर्वाधार निर्माणका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
आधुनिकीकरण र खेलाडीको व्यवसायीकरण गर्ने उद्देश्यले फुटबल प्रतियोगितालाई विगतका वर्षमा जस्तै निरन्तरता दिइएको आयोजकले जनाएको छ । सर्वाधिक गोल कर्ता एड्भान्स क्लबका जीवन मगर र म्यानअफ द म्याच ज्ञानेन्द्र भण्डारी भएका छन् । वेष्ट प्लेयर लोहोरुङ क्लबका वसन्त ओझाले पाएका छन् ।
प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको छ । प्रतियोगितामा सिक्किम फुटबल क्लबसहित कोशी प्रदेशका विभिन्न १२ क्लबको सहभागिता थियो ।