मानव अधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

31

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रूपमा क्रियाशील रहेको बताएका छन् ।

७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानव अधिकारको खबरदारी गर्ने मानव अधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएइको छ । यसवर्ष ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...