नेपालीलाई क्यासिनो प्रवेश गराउन नक्कली आधार कार्ड बनाइदिएको अभियोगमा ३ जना पक्राउ

28

काठमाडौँ, २१ मङ्सिर । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले उपत्यकाभित्र क्यासिनो प्रवेश गराउन विभिन्न व्यक्तिलाई आधार कार्ड बनाइदिएको आरोपमा दोलखा मेलुङ गाउँपालिका–३ का गोविन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका–८ रातोमाटेका नवीन राई र रूपन्देही तिलोत्तमा नगरपालिका–२१ कोटिहवाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार उपत्यकाभित्र भएका क्यासिनोहरूमा हुने विभिन्न अपराधिक क्रियाकलापमाथि सुक्ष्म निगरानी गर्दा नेपाली नागरिक पनि प्रवेश गरेको पाइएपछि अनुसन्धान थालिएको थियो ।

त्यसक्रममा खड्काले आधार कार्ड बनाइदिने गरेको खुलेपछि उनीसहित थप २ सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...