सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैद

42

काठमाडौँ, १९ मङ्सिर । रूकुम पश्चिमको चौरजहरी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनको हत्यामा संलग्न रहेको २३ जनालाई जिल्ला अदालत रूकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।

मंगलबार न्यायाधीश खड्क बहादुर केसीको इजलासले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रूकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । आइतबारदेखि सुरू भएको सुनुवाइको फैसला ३ दिन लगाएर मंगलबार साँझ आएको हो ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...