प्रभावकारी बन्दै राष्ट्रपति हवाई उद्धार कार्यक्रम, ४ महिनामा ६ जनाको उद्धार

46

खाँदबारी, १८ मङ्सिर । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सङ्खुवासभाका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत् हुने उद्धारले धेरैको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा पनि छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार सहज हुँदैन ।

जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाको भनाइ छ । गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् । समयमै हवाई उद्धार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएको उनको भनाइ छ ।

साउनयता मात्र ६ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । हवाई उद्धार कार्यक्रमअन्तर्गत भोटखोलाबाट ४ जना, सिलिचोङबाट ३ जना, मकालुबाट २ जना, सभापखेरी गाउँपालिकाबाट एक जना र खाँदबारी नगरपालिकाका ५ जना र पाँचखपनबाट एकको उद्धार गरिएको छ । उद्धार गरिएका महिला तथा सुत्केरी १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...