प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

30

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’मा सहभागी भइ आज अपरान्ह स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नरायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद्, निजामती तथा जंगी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित भए ।

यही मंसिर १४ गतेदेखि कोप–१८ दुबईमा सुरू भएको हो । प्रधानमन्त्री प्रचण्ड मंसिर १५ र १६ गते विश्व ‘जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी भएका थिए । साथै उनले मंसिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबईमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपतिलगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते युएईतर्फ प्रस्थान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...