भरतपुर अस्पतालमा थपियो आइसियूको शय्या

19

चितवन, १६ मंसिर । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कुल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

अस्पतालका प्रवक्ता डा.गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झन्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा ६०० शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो संघीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरंग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

संघीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...