रूस–युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि

48

काठमाडौँ, १३ मंसिर । रूसी सेनामा कार्यरत ३ नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासले रूसी सेनमा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मृत्यु भएको जानकारी रूसी सेनाले दिएको जनाएको हो ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान छन् । उनीहरूको गत नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको जानकारीसहित रूसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ ।

दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवारसँग सम्पर्क स्थापना गरिदिन आग्रह गर्दै कन्सुलर विभागलाई ४ दिनअघि लेखेको पत्र आज सार्वजनिक भएको हो । रूसका लागि नेपाली राजदूत मिलन तुलाधरले नपाली मारिएको घटनाबारे रूसी सेनासँग विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् ।

रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रूस–युक्रेन युद्धमा रूसको पक्षबाट लड्न झन्डै २०० नेपाली रहेको अनुमान गरिँदै आएको छ ।

नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र भएकाले रूसी सेनामा भर्ती हुन नीतिगत र कानुनी रूपमा मिल्दैन । यद्यपि, अध्ययन वा घुम्ने सिलसिलामा रूस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको पाइएको छ । ‘रूसी सेनामा गोर्खाली’ लेखिएका भिडिओहरू सामाजिक सञ्जालमा पनि देखिन्छन् ।

यद्यपि, रूसी सेनामा नेपालीहरूको संख्या एकिन हुन सकेको छैन । यस विषयमा परराष्ट्र मन्त्रालय र मास्कोस्थित नेपाली दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् । युक्रेनसँगको लडाइँमा रूसले भाडाका सैनिक वाग्नर समूहलाई खटाउने गरेको छ । युक्रेनसँगको लाडाइँ सुरू भएपछि रूसले आकर्षक तलब सुविधा पाइने भन्दै भर्ना हुन आह्वानसहितको प्रचार सामग्री बनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...