गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार

349

खाँदबारी, १२ मंसिर । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए ।

गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । गर्भवती सार्कीलाई मंगलबार दिउँसो थप उपचारका लागि हेलिकोप्टरमार्फत् थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए ।

गर्भवती सार्कीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । गर्भवती सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धार काठमाडौँ पठाइएको हो । गर्भवती सार्कीको अत्यधिक रक्तश्राव र उच्च रक्तचापसमेत देखिएको मेडिकल अधिकृत श्रीवालले बताए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो बेथा लाग्दा पनि शिशु जन्माउन कठिनाइ भएको, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म एक दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...