स्वास्थ्यमन्त्री बस्नेतको आरोप–गोविन्द केसी मेडिकल गिरोहबाट सञ्चालित छन्

21

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेतसमेत गराए ।

वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफूले कारबाही गर्ने चेतावनी दिँदै उनले नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरूले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको जिकिर गरे ।

“नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौँ,” उनले भने, “म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाईं फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नुहुन्छ । किन हिँडेको भनेर मैले सोधेँ । साथीहरूले काम चाहिँ गल्ती थियो । तर, हामी हिँड्नैपर्‍यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाइ दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ ? कन्भिन्स गर्नुपर्‍यो नि । यो देशका लागि अहित छ, नेपाली जनताका लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाईं आफू ठिक मान्छे हो । तर, तपाईंलाई सञ्चालन गर्ने गिरोहरू गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईंहरूले ।”

राष्ट्रिय ट्रमा सेन्टरले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३०० सम्म शय्या भएका सरकारी अस्पतालहरूमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शय्या भएको अस्पतालमा एमबिबिएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए ।

उनले सो प्रस्ताव देश र जनताको हितका लागि अति आवश्यक भएकाले त्यसलाई कार्यान्वयनका लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...