काठमाडौँ, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले आ-आफैँ लडेर शक्ति बर्बाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छन् ।
काठमाडौँमा आज नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद् कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बर्बाद गर्नुभन्दा प्रभावित क्षेत्रमा आएर व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “आ-आफैँ लडेर शक्ति बर्बाद किन गर्नुहुन्छ ? बरु आउनुस् दुवै पक्ष यता जाजरकोटतिर, अस्थाई टहरा निर्माण गरौँ। घरसँगै पुरिएका सामानहरु निकालिदिऔँ । म यहिँ छु जाजरकोटमै । तपाईंहरुको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ ।”
सांसद कार्की कात्तिक १८ गतेदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन् ।