काठमाडौँ, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् ।
छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन् ।