मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो : मन्त्री शर्मा

28

देउखुरी, १ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठुलो सेवा भएको बताएकी छन् ।

दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर)को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाँडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताइन् ।

सडकमा रहेका मानसिकरूपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठुलो धर्म भएको मन्त्री शर्माले जनाइन् । बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उनले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगका लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गरिन् ।

सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन् ।

सेवा घरका संस्थापक सचिव विजयकुमार पोखरेलले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सेवा घरमा अहिले ३८ बाबुआमा र ४ छोराछोरी गरी ४२ जना रहेको जानकारी दिए । जिल्लामा सडकबाट १६० भन्दा बढीलाई उद्धार गरिएको र सयभन्दा बढीलाई घरपरिवारमा पुनर्मिलन गराइएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...