फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

25

काठमाडौँ, १ मंसिर । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गएराति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।

युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पूरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।

यस्तै, खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत् दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे ।

दोस्रो हाफमा भने युएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन । युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे । युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए ।

नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मंसिर ५ गते यमनविरुद्ध दशरथ रंगशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...