काठमाडौँ, ३० कात्तिक । आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो ।
बुधबार मुम्बइमा न्युजिल्यान्डमाथि ६० रनको जित निकाल्दै भारत उपाधि नजिक पुग्यो । भारतले अब उपाधिका लागि आगामी आइतबार अष्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्ने छ ।
भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो । न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १३४ रन र कप्तान केन विलियम्सनले ६९ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा भारतका मोहम्मद शामीले ७ विकेट लिए । उनले ९.५ ओभरमा ५७ रन खर्चिए । जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराजले एक–एक विकेट लिए ।
त्यसअघि बुधबार मुम्बईमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो । भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे । उनले एकदिवसीय खेलमा ५०औँ शतक प्रहार गरेका हुन् ।
अघिल्लो साता एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् । उनले ११३ बलमा ९ चौका र २ छक्का हिर्काए ।
विराटले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ शतक प्रहार गरिसकेका छन् । सचिनले टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा १०० शतक बनाएका छन् । सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।
बुधबार खेलिएको न्युजिल्यान्डविरूद्धको सेमिफाइन खेलमा कोहलीका अतिरिक्त चौथो नम्बरका ब्याटर श्रेयस ऐयरले पनि शतकीय पारी खेले । उनले टोलीका लागि १९५ रनको योगदान गरे । यसक्रममा उनले केवल ७० बलको सामना गर्दै ८ छक्का र ४ चौका हिर्काए ।
ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे । अर्का ओपनर शुभमन गिल ८० रन र लोकेश राहुल ३९ रनमा नटआउट रहे ।
न्युजिल्यान्डका लागि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले एक विकेट लिए ।