नेपाल सम्वत्‌बाट आपसी सद्‌भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

17

काठमाडौँ, २८ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत्‌ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचार, मैत्रीभाव र आपसी सद्‌भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नोपलको मौलिक नेपाल सम्वत् ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपालको यो राष्ट्रिय सम्वत् चन्द्रमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरू हुने यो सम्वत्‌को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरूवात गर्ने परम्परा रहिआएको थियो ।

उनले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वभिमान बढाउन साख्वाले गरेको योगदानको प्रशंसा गरेका छन् ।

“शंखधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुशरण गर्न नेपाल सम्वत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु,” उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...