काठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संम्वत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वाले खेलेको भूमिका अविश्वमरणीय रहेको बताएका छन् ।
नेपालको मौलिक सम्वत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल सम्वत्का प्रवर्तकका रूपमा रहेको बताए ।
नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसलेको जनाए ।
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल सम्वत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल सम्वत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।