चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुन्छ : मन्त्री बस्नेत

19

धुलिखेल, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए । “वर्षौँदेखि रोकिएको काम अब सुरू गर्छौँ,” मन्त्री बस्नेतले भने, “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौँ ।”

एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रूपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र ५ हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ छ ।

“हालसम्म ३१ हजार नर्स र झन्डै एक हजार मात्र चिकित्सको दरबन्दी रहेको छ,” उनले भने । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण २ महिनाभित्र उपलब्ध गराउने बताए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...