रियल मड्रिडको सहज जित

14

काठमाडौँ, २३ कात्तिक । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’को खेलमा रियल मड्रिडले सहज जित हासिल गरेको छ । मड्रिडले पोर्चुगिज क्लब ब्रागाविरूद्ध ३–० को सहज जित निकालेको हो ।

रियलकै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेका थिए । खेलको २७औँ मिनेटमा नै डियाजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अघि रहेको मड्रिडका लागि ५८औँ मिनेटमा भिनिसियसले गोल गरे । त्यसको तीन मिनेटभित्रै रोड्रिगोले रियलका लागि तेस्रो गोल गरेका थिए ।

यो जितसँगै रियल च्याम्पियन्स लिगमा घरेलु मैदानमा भएका पछिल्ला ९ खेलमा अपराजित छ ।

समूह ‘सी’कै अर्को खेलमा नापोली युनियन बर्लिनसँग १–१ गोलको बराबरी खेलेका छन् ।

४ खेलमा शतप्रतिशत जित दर्ता गरेको रियलले समूह ‘सी’मा १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीको ४ खेलमा ७ अंक छ । तेस्रो स्थानको ब्रागाको ३ अंक रहँदा बर्लिनको १ अंक मात्र छ ।

Share This:
सम्बन्धित खबर
Loading...