भूकम्प पीडितलाई राप्रपाको २५ लाख सहयोग

33

काठमाडौँ, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्प पीडितलाई २५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ लाख र पार्टीका संघीय सांसद र प्रदेशसभा सदस्यहरूको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्ला प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रूकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ ।

सो पार्टीको आजको बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रूकुम पश्चिमका कार्यक्रम आगामी मंसिर १५ गतेसम्मका लागि र आज आमसाभ, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...