उपाधिबाट चुक्यो नेपाल, सुपर ओभरमा ओमानसँग हार्‍यो

86

काठमाडौँ, १९ कात्तिक । आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा ओमानले ३ छक्काको मद्धतमा २१ रन बनाएको थियो । जबाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सान झा ब्याटिङमा आएका थिए ।

तर, नेपालले पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।

अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामिछानेले २ विकेट लिएका थिए भने एक जना रनआउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो ।

ओमनका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, अकिव इलियासले ३३ तथा जिसन मक्सुदले २६ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २–२, सोमपाल कामी, गुल्सन झा, विवेक यादव, अभिनाष बोहराले एक–एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।

कमजोर स्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा मध्यक्रममा ब्याटर गुल्सन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मद्धतमा ५४ रन प्रहार गरे ।

पौडेलले ३६ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५२ रन जोडे । यस्तै, करण केसी २० रनमा नटआउट रहे । करणले ५ बलमा १ चौकार २ छक्का प्रहार गरे ।

पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो । नेपालले ८ ओभर नसकिँदै महत्त्वपूर्ण ३ विकेट गुमायो । ओपनरद्व आसिफ शेख ६, कुशल भुर्तेल ३१ तथा सन्दीप जोरा १० रनमा आउट भए ।

बलिङतर्फ ओमानका विलाल खानले ३ विकेट लिए ।

दुवै टिमले यसअघि नै सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...