नेपालगञ्ज, १९ कात्तिक । जाजरकोट र पश्चिम रूकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको संख्या ३८ पुगेको छ ।
गएराति एम्बुलेन्सबाट थप ६ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्जमा ल्याइएसँगै बिरामीहरूको संख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिकाका हुन् भने ४ जना सानोभेरी रूकुमका हुन् ।
घाइतेमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
भूकम्पमा गम्भीर घाइते भएका ५ जनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रजिअ पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए । मृतको शव आज जाजरकोट पाठइएको छ ।
अस्पतालमा बिरामी जाजरकोटका २४, रूकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन् ।