नेपाल टी–२० विश्वकपमा छनोट

32

काठमाडौँ, १७ कात्तिक । नेपाल टी–२० विश्वकपमा छनोट भएको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा १० वर्षपछि छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे । आसिफले ५० बलमा ६ चौका र २ छक्कासहित ६३ रन बनाए ।

यस्तै, कप्ता रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए । दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो ।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । यस्तै, गुल्सन झा १०औँ ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । युएईका लागि विकेटकिपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै २ छक्का र ८ चौका प्रहार गरे ।

यस्तै, कप्ता मोहम्मद वासिमले १६ बलमा २ छक्का र ३ चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारूले १६ बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । साथै सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...