युनाइटेड सहकारीको लुट : १५ लाखको ऋण दिएर ७ करोडको घरजग्गा कब्जा

33

काठमाडौँ, १६ कात्तिक । पुतली सडकको युनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका–१० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौँको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताएका छन् । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी भण्डाफोर गरेको छ ।

करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडाकार्यालय र वकिलहरूसँग मिलेमातो गरेर सो सहकारीले लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।

पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाइ पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घरजग्गा आफू स्वयम् सुरेन्द्र भएको कीर्ते हस्ताक्षर र ल्याप्चे कीर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाइ पञ्च पुनले ५ लाख, निरञ्जनप्रसाद शर्माले ५ लाख र दीपेन्द्र उप्रेतीले ५ लाख बाँडेको जिल्ला अदालत काठमाडौँलेसमेत पुष्टि गरिसकेको छ ।

२०६३ सालमा निज सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा कीर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजी गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए । सहकारीसमक्ष आफूले ऋण नलिएको बरू भाइले कीर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा लडेको बताए ।

करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर कीर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसाल गरे पनि सहकारी पुनः त्यसविरुद्ध उच्च अदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ ।

त्यसपछि पीडित न्यायको निम्ति सर्बोच्च अदालतमा गए,सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनि पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।

यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्‍याएको पीडित दुःख व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भइ आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमाला ‘गम्भीर’ले सुरेन्द्रले पाएको अन्यायर अत्याचारले आफ्नो पार्टीलाई गम्भीर बनाएपछि पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको बताए । सो पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालयसमेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, “अदालत, मालपोत, वकिल, सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरुलाई हाम्रो पार्टीले छाड्दैन ।”

सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुन–पसिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे । हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौँ जनताको जग्गा जमिनलाई लिलाम गर्नेविरुद्ध पार्टी खरो उत्रने बताउँदै भने, “कानुन तथा न्याको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत, वकिल र वडा कार्यालयका मान्छेहरुलाई सडकमा पछार्ने दिन टाढा छैन ।”

अभियान्ता पुण्य गौतमले सुरेन्द्र हाम्रो समाजको एक प्रतिनिधि पीडित पात्र मात्रै रहेको र यस्ता हजारौँ निश्चल र निश्छल जनता दिनदिनै माफियाहरुको चंगुलमा पर्ने हुँदा न्यायका लागि सबै एक हुन पर्ने धारणा राखे । गौतमले सुरेन्द्रको न्यायका निम्ति युनाइटेड सहकारीदेखि मालपोतसम्म घेर्न तयार रहने प्रतिबद्धता जाहेर गरे ।

Share This:
सम्बन्धित खबर
Loading...