मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

63

काठमाडौँ, १४ कात्तिक । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’मा लगातार २ जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ३४ मा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले ४ छक्का र ४ चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले २ छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई÷दुई रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा २ छक्का र ८ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ ÷१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक–एक विकेट लिए ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...