टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

57

काठमाडौँ, १३ कात्तिक । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले विजयी सुरूवात गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरूवात गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ७४ रनको योगदान दिए । २६ बलमा अर्धशतक पूरा गरेका भुर्तेलको यो सातौँ टी–२० अन्तर्राष्ट्रि अर्धशतक हो ।

नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए । भुर्तेल र शेखबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी हुँदा नेपाल सहज जिततर्फ अघि बढेको थियो ।

कप्तार रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौक र १ छक्कासहित ४६ रन बनाए । त्यस्तै, आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा, करण केसीले समान २–२ विकेट लिए ।

छनोटमा नेपाल समूह ‘ए’मा छ । समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । अब नेपालले भोलि मलेसियासँग दिउँसो १ः३० बजे त्रिवि मैदानमै खेल्ने छ । भोलिको खेलमा जित निकाले नेपालको सेमिफाइनल सम्भावना बलियो हुने छ । नेपालले समूहको अन्तिम खेल बुधबार ओमानसँग खेल्ने छ ।

समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलमा जित हात परे आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...