नेपालले जित्यो एसिसी यू–१९ प्रिमियर कपको उपाधि

263

काठमाडौँ, ७ कात्तिक । नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा युएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको युएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा युएईले २७ ओभरमा १९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर, यरएई २६.५ ओभर १७८ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि १२५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे ।

दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए । युएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले सन्तोषजनक सुरुआत गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए ।

नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...