नेपालको युएईमाथि रोमाञ्चक जित

51

काठमाडौँ, ६ कात्तिक । राजधानीमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ५ विकेटले पराजित गरेको छ ।

युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ४० रन जोडे ।

नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर, कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

युएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक–एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५–४५ रनको योगदान दिए । त्यस्तै, आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई÷दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक–एक विकेट लिए ।

नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै, नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले युएई र हङकङमध्ये एकसँग फाइनल खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...