नेपाल यू–१९ एसिया कपमा छनोट

198

काठमाडौँ, ४ कात्तिक । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा १४४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

नेपाल २५.२ विकेट गुमाएर १४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।

नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्धतमा ७९ रन बनाए । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए ।

अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्ने छ । युएईले अर्को सेमिफाइनलमा खेलमा सिंगापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...