काठमाडौँ, ३ कात्तिक । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाखले उपत्यका छाडेका छन् ।
बिहीबार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधानमार्फत् पछिल्लो २४ घन्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल ४ लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएको उनले बताए ।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको संख्या बाढ्न सुरू भएका मा पछिल्लो ३ दिनदेखि अत्याधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन ५१ हजार २७९ र त्यसको भोलिपल्ट ५१ हजार ३८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो संख्या बढेको हो ।
असोज ३० गते ७३ हजार ८९६, कात्तिक १ गते ९१ हजार १०२ र २ गते ९८ हजार ३३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्म एक लाखले उपत्यका छाडेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।
निजी सवारीसाधनमार्फत् जानेहरूको संख्या गणना नहुने भएकाले अझै धेरै संख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।