काठमाडौँ, २९ असोज । नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि ३ दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।
उनका अनुसार असोज २७ गते बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन् ।
ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्रफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्र १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।