जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

27

कर्णाली, २६ असोज । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सञ्चालित आँखा शिविरमार्फत् २१० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

विभिन्न पालिकाहरुका ९८६ जना बिरामीहरुको आँखा परीक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेसन र रिड्ली फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलंगामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने ४११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यस्तै, असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने ३५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यसैगरी, असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिबिन्दुको निस्शुल्क शल्यक्रिया गरिएको थियो भने २२५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...