एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा

37

काठमाडौँ, १८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

काठमाडौँमा यही अक्टोबर १७ देखि २० सम्म हुन गइरहेको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा एसिया प्यासिफिक महिला संयोजक पदमा आफूलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन् ।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन् ।

तमुधिँ जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन् । एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको उनले बताइन् ।

लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी अनिता समाजसेवामा सधैँ अग्रपंक्तिमा छिन् । जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतविपत् परेको बेला राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आएकी छन् ।

एनआरएनएभित्र एक क्षमतावान नेतृको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन् ।

यस्ता छन् उनका एजेन्डा :

१. संस्थाको शुद्धिकरण र भावनात्मक एकताः एनआरएनएमा महिला सहभागिता

२. परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्ने ।

३. परदेशी भूमिमा हुर्किँदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिकाउने ।

४. नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीप घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरी जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान गर्न महिला नेतृत्वलाई अगाडि बढाउने ।

५. विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुःखको अभिभावकीय संस्था हो भन्ने अनुभूति गराउने, जुनसुकै कारणले विदेशिएका नेपालीहरुका लागि ‘एनआरएनए मेरो भरपर्दो साथी’ भन्ने अवधारणा ल्याउने ।

Share This:
सम्बन्धित खबर
Loading...