काठमाडौँ, ८ असोज । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ यू–१९ साफ च्याम्पियनसिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालको जितमा समिर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्यो । खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधैँ जाली चुमेको थियो ।
त्यस्तै, खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो । समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याए । त्यसपछि समिरले खेलको दोस्रो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे ।
समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन् । माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।