सामाजिक सद्‌भाव कायम राख्न ख्रीष्टियन महासंघको अपिल

79

काठमाडौँ, ८ असोज । राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरूले सामाजिक सद्‌भाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपिल गरेको छ । महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत् एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धिका लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । “सदियौँदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकाले सबै सर्तक रहनु पर्छ” उनले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।

त्यसैगरी अध्यक्ष गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै केही सञ्चारमाध्यमले गलत सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाए । उनले चरित्र हत्यामा संलग्न व्यक्ति र पत्रिकाविरुद्ध कानुनी बाटो रोज्ने चेतावनीसमेत दिए ।

अध्यक्ष गहतराजले गत असोज ६ गते कान्तिपुर दैनिकले आफूलाई महासंघ अध्यक्षबाट पदमुक्त गरिएको भन्ने सूचना प्रकाशित गरेको र जुन गैरकानुनी र गैरन्यायीक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गहतराजले सूचना प्रकाशित गर्नुपूर्व कान्तिपुर जस्तो चर्चित मिडियाले वास्तविकता के हो भनेर सोचविचार नगरी पैसाकै भरमा चरित्र हत्या गर्नु गलत भएको बताए ।

एकपछि अर्को गैरकानुनी गतिविधि गर्ने उद्धवप्रसाद चिमौरियालगायतलाई महासंघबाट हटाएको झोकमा कान्तिपुरमा गलत सूचना प्रकाशित गरेर ती व्यक्तिहरुले अर्को भूल गरेको र उनीहरुलाई ठिक पार्न कानुनी बाटो रोजेको पनि उनले बताए ।

महासंघ उपाध्यक्ष तुलसीप्रसाद श्रेष्ठले देशमा धर्म निरपेक्षता, धार्मिक तथा सामाजिक सद्‌भाव विथोल्न विभिन्न व्यक्ति तथा समुदायहरू उद्दत रहेको बेला ख्रीष्टियन समुदायभित्रकै मानिसहरु ख्रीष्टियन मूल्य मान्यताविरुद्ध लाग्नु दुःखद् भएको धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...