काठमाडौँ, ७ असोज । विश्वकप क्रिकेट जित्ने टोलीले कति पुरस्कार राशि पाउँछ ? अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यसबारे जानकारी दिएको छ । आइसिसीले विजेता टोली र अन्य टोलीलाई पुरस्कार राशि दिने घोषणा गरेको छ ।
आइसिसीले जारी गरेको विज्ञप्तिअनुसार विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर अर्थात् नेपाली ५३ करोड ५ लाख ४५ हजार ६ सय रूपैयाँ पुरस्कार दिइने छ । यस्तै, उपविजेता टोलीका लागि २० लाख डलर विनियोजन गरिएको छ ।
त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टोलीलाई ८–८ करोड डलर दिइने छ । यस्तै, समूह चरणबाट बाहिरिने प्रत्येक ६ टोलीलाई १ लाख डलर रूपैयाँ दिइने छ ।
समूह चरणमा जितेका प्रत्येक टोलीलाई ४० हजार डलर दिइने आइसिसीले जनाएको छ । उक्त प्रतियोगितामा कुल १ करोड डलर अर्थात् १ अर्ब ३२ करोड ६३ लाख ६४ हजार रूपैयाँ वितरण गरिने छ ।
१३औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगितामा १० देश सहभागी हुने छन् । अक्टोबर ५ देखि सुरू हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा भारतस्थित अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुने छ ।