काठमाडौँ, १ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीरणको नाममा तिज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तिजका अवसरमा आज शुभकामना दिँदै उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताए ।
उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडवाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना सबैले गर्नुपर्ने बताए । उनले हरितालिका तिज हिन्दु महिलाहरूले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान् पर्व भएको उल्लेख गरे ।
तिजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ । “यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसरसमेत जुटाइदिन्छ,” उपराष्ट्रपतिले शुभकामनामा भनेका छन्, “तर, यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।”