ललितपुर, २९ भदौ । ललितपुरको पाटनढोकास्थित पाटन हाइ स्कुलले १००औँ वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । स्कुलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहकाबीच १००औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिरीबाबु महर्जनले १००औँ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरे । “आफ्नो राम्रो सौभाग्य भएकोले नै १०० वर्ष पूरा गरेको विद्यालयको शतवार्षिकोत्सवको समुद्घाटन गर्न पाउँदा मलाई गर्व लागेको छ,” उनले भने, “यो चानचुने कुरा नै होइन म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।” यो स्कुललाई सैद्धान्तिक र व्यवहारिक सहयोग गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
भूकम्पपछि क्षतविक्षत बनेको विद्यालय भवनलाई चिटिक्क परेको नयाँ भवन बनाउन सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने उनको अपेक्षा थियो ।
जापानी राजदूत किकुता युकाताले बधाई ज्ञापन गर्दै यो कार्यक्रममा उपस्थित भई सम्मानीत हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपाललाई गरेको सहयोगको खुलेर प्रशंसा गरेको सुन्दा धन्य भएको पनि उनले बताए ।
जापान सरकारले नेपालका २४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाई स्कुल पनि भएको उनको भनाइ थियो । सोही स्कुलमा पुनः आएर शतवार्षिक समारोहमा सहभागी हुन पाउँदा गर्व लागेको उनले बताए । यो स्कुलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरुलाई उनले आग्रह गरे ।
विद्यालय विसं २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । विभिन्न आरोहअवरोहहरु पार गर्दै विद्यालय हाल व्यवस्थित भवनमा सञ्चालित छ । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल १ हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानुन संकायमा अध्यापन भइरहेको छ ।