काठमाडौँ, २४ भदौ । जिल्ला अदालत काठमाडौँले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग २ करोड ४६ लाख रूपैयाँ धरौटी माग गरेको छ ।
काठमाडौँ महानगरपालिका–४ नम्बर वडा कार्यालयका तत्कालीन वडा सचिव शिवजी भट्टराईसँग ३ लाख ३० हजार, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनिय डिभिजनका इञ्जिनियर बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजासँग १५ लाख र नापी कार्यालय डिल्लीबजार काठमाडौँका तत्कालीन सर्भेक्षक घमनकुमार कार्कीसँग ७ लाख ५० हजार माग गरेको हो ।
यस्तै, तत्कालीन मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका तत्कालीन खरिदार गोपाल कार्कीसँग ७ लाख ५० हजार, समरजंग कम्पनी तत्काली सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग १५ लाख, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु योगराज पौडेलसँग ७ लाख ५० हजार, समरजंग कम्पनीको तत्कालीन प्रमुख लोकहरि घिमिरेसँग ७ लाख ५० हजार, खरिदार नारयणराज मिश्रसँग ७ लाख ५० हजार र नापी कार्यालय मैतिदेवी काठमाडौँका तत्कालीन अमिन अरूणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार माग गरेको हो ।
ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो । प्रहरीले संगठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको छ ।
२०४९ सालदेखि २०६९ सालसम्म नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिको नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरूङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी ३१० जना रहेका छन् । उनीहरूमध्ये २१ जनाको मृत्यु भइसकेको छ ।