काठमाडौँ, १४ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
गृह मन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए ।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रूपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागरिकताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।
उनले भने, “निमा लामाको नामबाट नागरिकता लिएको पुष्टि भयो । अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागरिकता भएको पुष्टि गरेका छौँ ।” समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ । थप अपराध अनुसन्धान भने सिआइबीले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ ।
दावालाई गत साउनको १३ गते शनिबार राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको खुलेको छ । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो ।
गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ ।
६ विदेशीसहित २५ जना पक्राउ गरी सिआइबीले अनुसन्धान गरिहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना संकलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाइएको छ ।