सुन तस्करी प्रकरण : दावासँग ‘सम्बन्ध’ रहेका नेपाली खोज्न सिआइबीको अरुचि

30

काठमाडँ, १० भदौ । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबिन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्पिए पनि त्यसयता यो तस्करीमा संलग्नहरुको थप जालो पत्ता लगाउनेतर्फ सिआइबीको भूमिका निकै सुस्त देखिएको छ ।

सिआइबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको २० दिन पुगिसक्दासमेत उसको अनुसन्धानको सुई सुन तस्करीमा पक्राउ परेको चिनियाँमूलक बेल्जियम नागरिक दावा छिरिङभन्दा माथि पुग्न सकेको छैन । दावासँग ‘सम्बन्ध’ देखिएका नेपाली नागरिकलाई छानबिन गर्नेतर्फ सिआइबीको रुचि नदेखिएको स्रोतको दावी छ ।

स्रोतका अनुसार राजनीतिक दबाव र प्रभावका कारण सिआइबीलाई सुन तस्करी प्रकरणको छानबिनलाई गति दिन कठिन भइरहेको छ । यही माथिको दबाब र प्रभावका कारण सिआइबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सुक्ष्म अनुसन्धान गरी दावासँग सम्बन्ध देखिएका नेपालीहरुको बारेमा छानबिन गर्न कुनै रुचि नदेखाएको स्रोतको दावी छ । स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरि तीनवटा समूहसँग दावाको सम्बन्ध देखिए पनि सिआइबीको अनुसन्धानको तारो भने चिनियाँ समूहमा मात्रै सीमित भएको देखिएको छ ।

सिआइबीले राजश्व अनुसन्धान विभागबाट छानबिनको जिम्मेवारी पाएको २० दिनको अवधिमा ६ जना चिनियाँलाई मात्रै पक्राउ गरेको छ । तर, दावासँग नियमित कनेक्सनमा रहेका र उनको सम्पर्कमा रहेका अन्य नेपालीलाई सिआइबीले केही गर्न सकेको छैन । स्रोतका अनुसार दावाको कलडिटेल्सलाई निष्पक्षतापूर्वक र कुनै दबाब बिना नै अध्ययन गर्ने हो भने केही नेपाली उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसमेत छानबिनको दायरामा आउने निश्चित छ । तर, सिआइबीलाई परेको ‘माथिको दबाब’का कारण उसले दावाको कलडिटेल्समा दावासँग गहिरो सम्बन्ध देखिएका उच्च व्यक्तित्वहरुलाई छानबिनको दायरामा ल्याएर पक्राउ गर्ने हिम्मत गर्न सकेको छैन् ।

गृहस्रोतका अनुसार दावाको कलडिटेल्सका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबीसँग अस्वाभाविक चासो देखाइरहेका छन् । ‘उहाँहरुको चासोका कारण पनि सिआइबी केही त्रसित जस्तो देखिएको छ ।’ गृहस्रोतले नेपाल समाचारपत्रसँग भन्यो । केही दिनअघि मात्रै चिनियाँ मूलका बेल्जियम नागरिक रहेका सुन तस्कर दावासँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको वीच्याटमार्फत् व्यवसायिक ‘डिल’ भएको तथ्य बाहिरिएको थियो । सिआइबीकै केही अधिकृतले दावा र अध्यागमन विभागका महानिर्देशकबीच गहिरो सम्बन्ध देखिने वीच्याटका कुराकानी बाहिर ल्याइदिएका थिए । ‘त्यस्तो प्रमाण पाउदासमेत सिआइबीले अधिकारीलाई पक्राउ गर्न सकेको छैन । यो तथ्यले सिआइबीमाथि उच्चस्तरबाट ठुलो दबाब रहेको सहजै बुझ्न सकिन्छ,’स्रोतले भन्यो । नेपाल समाचारपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...