काठमाडौँ, २५ साउन । देशभर आंशिकदेखि सामान्य बदली भई हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । महाशाखाका अनुसार आज देशका सातै प्रदेशमा वर्षा हुने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा हुने छ ।