काठमाडौँ, २२ असार । ललितपुर महानगरपालिका वडा नम्बर १८ का इम्मानुएल सुब्बा ललितपुरबाट जन्मसिद्ध सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति भएका छन् ।
सुब्बाले शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट नागरिकता लिएका हुन् । यस्तै, विकास सुब्बाले पनि उनीसँगै नागरिकता पाएका हुन् ।
आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति भएको हो ।
सरकारले गत असार १० गतेदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गरे पनि इम्मानुएलको कागजी प्रक्रिया पूरा गर्न निकै मेहनत गर्नु परेको उनकी आमा यशोदा सुब्बाले जनाइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश ७ असारमा सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो ।
गृह मन्त्रालयले निकालेको तथ्यांकअनुसार २०६५ साल असार मसान्तसम्ममा २ लाख ४० हजार ७२१ जनालाई जन्मसिद्धका आधारमा नागरिकता वितरण गरिएको थियो । जन्मसिद्ध नागरिकता लिनेमा मधेसी, पहाडी र हिमाली भेगका नागरिकसमेत रहेका छन् ।
जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर, कानुनको अभावमा जन्मसिद्धका सन्तानले नागरिकता नपाएको समस्यालाई ऐनले सम्बोधन गरेको थियो । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएको समस्या व्यहोर्नु परिरहेको थियो ।