कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै

55

काठमाडौँ, ३१ जेठ । संसद्को सबैभन्दा ठुलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो ।

पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ सभापति शेरबहादुर देउवाले चासो देखाएका छैनन् भने महामन्त्री थापा सभापतिको विरुद्धमा भाषण गर्दै हिँडेका छन् । त्यस्तै, केही केन्द्रीय सदस्यसहित पार्टीको जिम्मेवारीमा नरहेका अधिकांश युवा नेताहरू देशव्यापी अभियानमा छन् ।

नेतृत्वलाई पार्टी रूपान्तरणको खाकाका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सभापति देउवाले एकातिर सुनेर अर्कोतिरबाट उडाउने काम गरेको कांग्रेस रूपान्तरण अभियानका नेता गुरुराज घिमिरेले आरोप लगाए । सभापतिको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनले नेपाल समाचारपत्रसँग भने, ‘नेपाली कांग्रेसको रूपान्तरण सभापति देउवाबाट सम्भव छैन । हामीले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा उहाँले सुन्नै चाहनुभएन । त्यसैले हामी अभियानबाटै उहाँलाई सच्याउन सकिन्छ भनेर लागेका हौं । उहाँ सच्चिनुभएन भने सक्किन तयार हुनुपर्छ ।’

मंगलबार महामन्त्री गगन थापाले कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना र देशको आवश्यकता बुझेर सभापतिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गरिदिए, त्यो पार्टीको हितमा र सभापतिको पनि हितमा हुने टिप्पणी गरे ।

महामन्त्री थापाले नेता शेखर कोइरालासँग आफ्नो सम्बन्ध प्रगाढ रहेको जिकिर गर्दै भने, ‘शेखर कोइरालासँग १४औँ महाधिवेशनमा सभापति र महामन्त्रीको उम्मेदवार बन्दा जस्तो सम्बन्ध थियो, त्योभन्दा प्रगाढ होला तर कम भएको छैन । १५औँ महाधिवेशनसम्म थप साथीहरू जोडिन्छौँ, भएका साथीहरू छुट्टिन्नौं ।’

सभापति र शेखर कोइरालाको सम्बन्धको कुरा भने व्यक्तिगत रहेको भन्दै थापाले त्यसबारे टिप्पणी नगर्ने बताए । यद्यपि, सरकारमा मन्त्री पठाउने शेखर समूहको निर्णययता महामन्त्री थापा र नेता कोइरालाबीच असन्तुष्टिहरू देखिन थालेका छन् । आफ्ना पक्षका २ नेतालाई मन्त्री बनाएका शेखर कोइराला महामन्त्री थापाको पछिल्लो असन्तुष्टिका सन्दर्भमा मौन रहेका छन् । नेपाल समाचारपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...