विद्युतीय गाडीमा लाग्ने कर व्यवहारिक बनाएका छौँ : अर्थमन्त्री महत

35

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा अव्यवहारिक भन्सार करलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्याएर कर लगाएको बताएका छन् ।

प्रतिनिधिसभामा २०८०÷८१ को बजेटमा उठेको प्रश्नको जबाफ दिँदै उनले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यवहारिक नभएकाले ५ वर्गमा विभाजन गरी व्यवहारिक बनाइएको बताए ।

यसअघि विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी कर लगाइएको थियो । जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, १००–२०० किलोवाटसम्म ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो । साथै २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने र ३०० किलोवाटभन्दा माथिका सवारी साधनमा ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो ।

अब ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल लाग्ने छ । साथै ५०–१०० किलोवाटसम्म १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क लाग्ने र १००–२०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । साथै, २००–३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने छ । त्यसैगरी सोभन्दा बढी क्षमताको हकमा साविक बमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री डा.महतको भनाइ छ ।

पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमा समेत भन्सार दर एउटै रहेको उनको भनाइ छ । सवारीमा क्षमताको आधारमा अन्तःशुल्क दरमा मात्र सामान्य फरक रहेको उनले प्रष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...